नियम ३८
क्षतिपूर्ति पाउने शर्त र बन्देजहरू

बीमा गरिएको हुलाक वस्तु वा त्यसको कुनै अंश हुलाकद्वारा चलान गरिएको अवस्थामा हराएमा वा नोक्सान भएमा ऐन बमोजिम पाउने क्षतिपूर्तिको रकम देहायको अवस्थामा पाउने छैनः–
(क) प्रेषकले लेखेको ठेगाना अधुरो वा अशुद्ध भै गलत डेलिभरी हुन गएमा, वा
(ख) प्रेषकले वा ठेगानावालाले कुनै किसिमको जालसाजी गरेको प्रमाणित भएमा, वा
(ग) ठेगानावालाले फिर्ती रसीद समेतमा सहीछाप गरी बीमा वस्तुको डेलिभरी लिइसकेको भएमा,
(घ) बीमा वस्तु हुलाक दाखिल भएको मिति देखि ६ महिनासम्ममा हराएको वा नोक्सानी भएको वा गुम भएको कुनै उजुरी नदिएमा, वा
(ङ) अनुचित वा असुरक्षित प्याकबन्दीको कारणले हराएमा वा नोक्सान भएमा, वा
(च) हुलाक वस्तुको बाहिरी भाग वा लाहाछापमा कुनै देखिने नोक्सानी नभएमा, वा
(छ) बीमा वस्तुभित्र करेन्सी नोट वा सटही मूल्यको अरु वस्तु वा दुबैसाथ खामिएको भै त्यस्तो वस्तुहरूको वास्तविक मूल्यको बीमा नगरिएको भएमा, वा
(ज) बीमा गरिएको वस्तुको स्वभावबाट हानि नोक्सानी भएमा, वा
(झ) हुलाकद्वारा चलान गर्न मनाही गरिएको वस्तु बीमा गरिएमा, वा
(ञ) काबू बाहिरको परिस्थितिबाट हराएमा वा नोक्सान भएमा ।